थाहै नपाइ ज्यान गुमाउँछन सर्वसाधारण - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

थाहै नपाइ ज्यान गुमाउँछन सर्वसाधारण

थाहै नपाइ ज्यान गुमाउँछन सर्वसाधारण

Short Description:

Product Description


naradevi
  • उमेश महर्जनकी पत्नी गीता
९ पुस, काठमाडौं । बालाजुका उमेश महर्जन नरदेवी हुँदै काल्धारामा रहेको आफ्नो मोटरसाइकल वर्कसप जाँदै थिए।
नरदेवीको साँघुरो सडकमा पानी ट्यांकर छिरेपछि एकैछिनमा जाम भयो। गाडीको ताँती नै लाग्यो। मोटरसाइकल र गाडीको टाँटाँटुँटुँले राजधानीको भित्री सहर कोलाहलले छोपियो। उमेश पनि त्यही जाममा फसे।उनले पानी ट्यांकरछेउको सानो ‘स्पेस’ बाट अप्ठ्यारोसँग ओभरटेक गर्न पनि खोजे। नजिकै बिजुलीको खम्बा थियो। त्यहीँको एउटा घरमा बिजुली पुर्या्उन तानिएको कालो तार कति दिनदेखि चुँडिएर झुन्डिएको रहेछ।
उनले ख्यालै गरेनन्।
उनी बिस्तारै मोटरसाइकल अघि बढाउँदै झुन्डिएको तारनजिकै पुगे।
केही बेरमा जाम खुल्यो। पानी ट्यांकर अघि बढ्यो। अगाडि झुम्मिएका मोटरसाइकल पनि कुदे। पछाडि लस्कर लागेका ट्याक्सी र कार पनि दौडिए।
सबै अघि बढे, उमेशको मोटरसाइकल भने अडिएको अडियै रह्यो। उनको हात ह्यान्डलमै स्थिर थियो। आँखा खुलेका थिए। सास थामिएको थियो।
सडकछेउ बिजुलीको खम्बाबाट तुर्लुंग झुन्डिएको नांगो तारको टुप्पाले छुस्स उनको घाँटीमा छोएछ।
उच्च करेन्टयुक्त तार बीच बाटोमा झुन्डिएर ‘बिजुली धराप’ बन्दा पनि विद्युत प्राधिकरणको ध्यान नपुग्दा राजधानीको मध्यसहरमा मोटरसाइकल हाँकिरहेका उमेशको प्राण गयो।
केहीबेर बरफजस्तै जमेपछि उमेश मोटरसाइकलसहित बङ्लंग भुइँमा पछारिए। वरपरका सबै झुम्मिन पुगे। उनलाई झक्झक्याए। कोही अस्पताल लैजान ट्याक्सी खोज्न थाले, कसैले एम्बुलेन्सको नम्बर घुमाए। तर, समय घर्किसकेको थियो।
यो गत कात्तिक ४ को घटना हो। त्यस दिन कागतिहार थियो।’त्यसबेला म स्कुलमा पढाउँदै थिएँ,’ उमेशकी पत्नी गीताले दुई महिनाअघिको जिन्दगीकै सबभन्दा ठूलो दुर्घटना सम्झँदै मंगलबार नागरिकसँग भनिन्, ‘श्रीमानको मृत्युमा विद्युत प्राधिकरणले मलाई क्षतिपूर्ति र किरिया खर्च त दियो, तर त्यो पैसाले मेरो श्रीमानलाई के फर्काउँथ्यो र?’
‘बीच बाटोमा झुन्डिएको नांगो तार तह नलगाएर ठूलो लापरबाही गरियो, यसमा दोषी को हो, त्यसलाई पनि कारबाही भएन।’
विद्युत प्राधिकरणले बाटोमै लत्रिएका हाइभोल्टेजयुक्त तार थन्को नलगाउँदा गाउँ–सहर जताततै ‘विद्युतीय धराप’ थापेझैं देखिन्छन्, जसमा परेर जुनसुकै बेला जोसुकैले ज्यान गुमाउनसक्ने खतरा छ।
देशभरिबाट यस्ता दुर्घटनाका खबर आइरहेका छन्। आइतबार मात्र सिन्धुपाल्चोकको जलवीरे–कात्तिके सडकमा गुडिरहेको बसले लत्रिएको बिजुली तार छुँदा करेन्ट प्रवाह भएर चार जना यात्रुको ज्यान गयो। मक्किएको पोल भाँच्चिएर ११ हजार भोल्टको तार दुई महिनादेखि लत्रे पनि विद्युत प्राधिकरणले चासो दिएको थिएन। घटनाका १४ घाइते राजधानीका विभिन्न अस्पतालमा अहिले पनि मृत्युसँग संघर्ष गरिरहेका छन्।
त्यसै दिन गोरखामा पनि अव्यवस्थित हाइटेन्सन लाइन विस्तारका कारण एक युवकको करेन्ट लागेर ज्यान गएको थियो। घरमाथिबाट लगिएको हाइटेन्सन लाइनमा छोएर गोरखा नगरपालिका–५, खिरेपानीका २३ वर्षीय दीपक फेवाली मगरलाई करेन्ट लागेको थियो।
यसरी हरेक वर्ष औसत १२ देखि १५ जनाको करेन्ट लागेर ज्यान जाने गरेको विद्युत प्राधिकरणले जनाएको छ। यसै वर्ष पनि अहिलेसम्म १३ जनाको करेन्टले ज्यान लिइसकेको छ। प्राधिकरणका अनुसार करेन्ट लागेर मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति र किरिया खर्चबापत प्रतिव्यक्ति ५ लाख १५ हजार रुपैयाँ वितरण गरिएको छ।
सबभन्दा बढी विद्युतीय दुर्घटना सिन्धुपाल्चोक जिल्लामा भएका छन्। त्यहाँ पछिल्लो ६ वर्षमा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या ४० पुगेको छ। यस वर्षको ९ महिना नबित्दै तीन घटनामा पाँच जनाको मृत्यु भइसकेको छ।
करेन्ट लागेर मान्छेको ज्यान जाने, अनि त्यसबापत विद्युत प्राधिकरणले पीडित पक्षलाई क्षतिपूर्ति ५ लाख र किरिया खर्च १५ हजार रुपैयाँ दिनेबाहेक दुर्घटना रोक्न अन्य कुनै पहल लिएको छैन। दुर्घटनापूर्व समाधानका उपाय नखोज्ने र क्षतिपूर्ति बाँडिरहने प्रवृत्तिले विद्युतीय दुर्घटनामा मृत्यु संख्या बढाइरहेको छ। दुर्घटनाबाट जोगिनु र जोगाउनुभन्दा प्राधिकरण दुर्घटनापछि क्षतिपूर्ति दिनमात्र अग्रसर देखिन्छ।
कतिपय घटनामा नांगो तार झुन्डिएको वा हाइटेन्सन लाइन छिनेर जोखिमपूर्ण अवस्थामा रहेको खबर विद्युत प्राधिकरणलाई पहिल्यै पुगेको हुन्छ। स्थानीय बासिन्दाले नै खबर पुर्यारउँदा पनि समयमा सुनुवाइ हुँदैन। र, दुर्घटना हुन्छ।
आइतबारको सिन्धुपाल्चोक दुर्घटनामा गाविस कार्यालयले औपचारिक पत्र लेखेरै प्राधिकरणलाई ताकेता गरेको थियो। जबसम्म बसमा सवार चार जनाको ज्यान गएन, तबसम्म प्राधिकरणले सुनुवाइ गरेन।
उमेशको घटनामा पनि त्यस्तै भएको थियो।
नरदेवीमा नांगो तार झुन्डिएको बारे उमेशको ज्यान जानु सात दिनअघिदेखि पटकपटक प्राधिकरणमा खबर गरेको स्थानीय बताउँछन्। तर, कोही कर्मचारी घटनास्थल पुगेनन्। नांगो तार जहाँको त्यहीँ विद्युतीय धराप बनेर रह्यो, जसमा परे दुई छोरीका बाबु उमेश।
उक्त दुर्घटनालगत्तै कर्मचारी हतारहतार गए। तार तन्काए। र, मर्मत गरे।
उमेशका लागि भने त्यतिबेलासम्म धेरै ढिला भइसकेको थियो। पोस्टमार्टम रिपोर्टले करेन्ट लागेरै उमेशको मृत्यु भएको पुष्टि गरिसकेको थियो।
उमेशका १० र ५ वर्षका दुई छोरीको पढाइ खर्च जुटाउने उपाय पनि अब गीतासँग छैन। प्राधिकरणले क्षतिपूर्तिबापत दिएको रकम लिनधरि गीताले इन्कार गरेकी थिइन्। ‘मर्ने मरेर गए, पैसाले फर्केर आउँदैन, मलाई पैसा चाहिँदैन,’ गीताले ससुरासँग धेरैपटक भनेकी थिइन्। ससुराले यो रकम छोरीहरूको भविष्यमा काम लाग्छ भने। परिवार र ससुराको जोडले बल्लतल्ल रकम लिन उनी मन्जुर भइन्। पछि, त्यही रकम परिवारमा बाँडियो। उनको भागमा आयो जम्मा दुई लाख।
गीताले त्यसैलाई बैंकमा जम्मा गरेर दुई छोरी पाल्ने र पढाउने स्रोत बनाएकी छन्।
‘प्राधिकरणले दिएको रकम लिएर मलाई दुःख लागेको छ,’ गीताका आँखामा आँसु टिल्पिलाए, ‘श्रीमानको मृत्युमा पैसा आयो, मरेको व्यक्तिको व्यापार गरेजस्तो भयो।’
गीतालाई अब पैसा होइन, गतिलो जागिर चाहिएको छ, दुई छोरीको लालनपालन र पढाइका लागि। सहयोग गर्छु, छोरीहरू पढाइदिन्छु भन्ने थुप्रै आइरहेका छन्। तर, उनलाई यसरी आश्वासन बाँड्नेले दायित्व पूरा गर्छन् भन्ने विश्वास छैन। काठमाडौं–७ मा नेपाली कांग्रेसतर्फबाट उम्मेदवारी दिएकी प्रमिला सिंहले ३ लाख रुपैयाँ दिलाइदिने प्रयास गरिरहेको उनले बताइन्।

0 Reviews:

Post Your Review